Monday, 21 April 2008
तीन हजार बालबालिका हराए, एक हजार आठ सय भेटिए
काठमाडौं, ९ वैशाख । मुलुकमा बालबालिका हराउने क्रम रोकिएको छैन् । बालबालिका खोज तलास समन्वय केन्द्रले एक वर्षो अवधिमा मुलुकभरी तीन हजार बढी बालबालिका हराएको तथ्याङ तयार पारेको छ ।
केन्द्रका प्रमुख प्रहरी निरीक्षक मालती शाहीका अनुसार ती हराएका बालबालिकामध्ये करिब दुइ हजार बालबालिका काठमाडौँ उपत्यकाका हुन् । सत्र महिना अघि स्थापित सो केन्द्रले एक वर्षो अवधिमा करिब १ हजार ८ सय बालबालिकालाई फेला पारी अभिभावकको जिम्मा लगाएको बताएको छ ।
सहर, बजार, पेटीमा बालबालिका अलपत्र र बेवारिसे अवस्थामा रहने प्रवृत्ति पनि बढेर गएको छ । केन्द्रले एक वर्षो अवधिमा मात्रै ५०० बालबालिका अलपत्र अवस्थामा फेला पारेको छ ।
केन्द्रका कार्यक्रम अधिकृत शर्मिला थापाले बेवारिसे अवस्थामा फेला परेका ती बालबालिकामध्ये ३०० भन्दा बढीलाई अभिभावकको जिम्मा लगाएको तथा करिब १५० जनालाई विभिन्न सङ्घ संस्थाको बालगृहमा राखिएको बताउनुभयो ।
हराउने या बेवारिसे अवस्थामा फेला पर्ने ती बालबालिका ६ महिनादेखि १६ वर्षम्मका हुने गरेका छन् । तर धेरैजसो ११-१२ वर्षा हुने गरेको अधिकृत थापाले बताउनुभयो । उपत्यकामा धेरै बालक हराएको उजुरी परे पनि उपत्यका बाहिर भने धेरै बालिका नै हराउने गरेको बताइएको छ ।
फेला परेका र भेटिएका बालबालिकालाई अभिभावकले लिन नआएमा माइती नेपाल, सिविन नेपाल, नेपाल बाल सङ्गठनलगायतका संस्थाका बालगृहमा पठाउने गरिएको छ ।
केन्द्रको १०४ हटलाइन तथा चिठीपत्र र प्रत्यक्ष जानकारीका आधारमा आएका बालबालिका हराएका उजुरीलाई पुलिसको समन्वयमा खोजतलास गरिने गरिएको प्रमुख शाहीले बताउनुभयो ।