Monday, 21 April 2008
अमेरिकाले माओवादीलाई आतंककारीको सूचीबाट हटाउने
२१ अप्रिल, ०८ । अमेरिकाले नेकपा माओवादीलाई आतंककारीको सूचीबाट हटाउने भएको छ ।
नेपालका लागि अमेरिकी राजदूत न्यान्सी जे पावेलले अन्तरिम व्यवस्थापिका संसद्का सभामुख सुवासचन्द्र नेम्वाङसंगको भेटमा त्यसका लागि केही प्राविधिक प्रक्रिया मात्र बाँकी रहेको जानकारी दिनुभएको हो ।
दश वर्ष सशस्त्र बिद्रोह गरेको माओवादी शान्तिपूर्ण राजनीतिमा आएर सरकारमा सामेल भइसक्दासमेत अमेरिकाले उसलाई आतंककारीको सूचीबाट हटाएको छैन ।
संविधानसभाको चुनावमार्फत लोकतान्त्रिक प्रक्रियामा सामेल भएको र उसलाई अत्यधिक जनताको समर्थन प्राप्त भएकाले माओवादीप्रतिको अमेरिकी दृष्टिकोणमा परिवर्तन भएको हो । सभामुखसंगको भेटमा राजदूत पावेलले माओवादीको नेतृत्वमा बन्ने सरकारप्रति यस अघिका सरकारजत्तिकै सहयोग र समर्थन जारी रहने बताउनुभयो । पावेलले नेपालको शान्तिप्रक्रिया, संविधान निर्माण प्रक्रियालगायत राजनीतिक प्रक्रियाका बारेमा पनि जिज्ञासा राखेको सभामुख नेम्वाङले जानकारी दिए ।
राजदूत पावेलले केही कमजोरी रहे पनि संविधानसभाको चुनाव सम्पन्न गरेर नेपालले विश्वसामु ऐतिहासिक नमूना प्रदर्शन गरेको टिप्पणी पनि गरिन् ।