Tuesday, 15 April 2008
प्रचण्डलाई जापानी राजदूतबाट पहिलो बधाई
१५ अप्रिल, ०८ । संविधानसभा निवार्चनमा माओवादीको विजय लहरसंगै अध्यक्ष प्रचण्डलाई बधाई दिने विदेशीहरुको सोमबार बिहानैदेखि उनको निवासमा धुइरो लागेको छ ।
बधाई र शुभकामना दिन सोमबार बिहान सबैभन्दा पहिला जापानी राजदूत नयां बजारस्थित प्रचण्ड निवास पुगेका थिए ।
उनीपछि नर्वेका राजदूत तारे तोरङ, स्वतन्त्र निर्वाचनका लागि एसियाली सञ्जालका महासचिव, स्विस विकास नियोगका प्रतिनिधि मार्कोस हेनेगल, राष्ट्रसंघीय मिसन प्रमुख इयान मार्टिनले पनि प्रचण्डलाई भेटी बधाई र शुभकामना दिए । भेटमा अनमिन प्रमुख मार्टिनले प्रचण्डसंग नयां बन्ने सरकार, शान्ति प्रक्रियाको आगामी स्वरूप, अनमिनको भूमिकालगायतबारे छलफल गरेको बताए ।
प्रचण्डलाई भेट्न र चुनावी अन्तर्वार्ता लिन स्वदेशी र विदेशी पत्रकारसमेत पुगे पनि उनीहरूलाई भेट गर्न दिइएन ।
पद्मरत्न तुलाधरलगायतका अधिकारकर्मीले पनि प्रचण्डलाई भेटेका थिए । बधाई र शुभकामना दिन प्रचण्डनिवास पुगेका सबैसंग उनले एक्लैले भेटेका थिए ।
अन्य नेताहरु विजय र्?याली र सभामा सहभागी हुन आ-आफ्ना निर्वाचन क्षेत्रमा छन् । माओवादीले विजेताहरूलाई चुनावी क्षेत्रमा फर्केर जनतालाई धन्यवाद दिन निर्देश गरेकाले उनीहरू चुनावी क्षेत्रमा छन् । सोमबार राजधानीमा संविधानसभा सदस्य हिसिला यमी र ललितपुर-२ का राजकाजी महर्जनले विजय र्?याली आयोजना गरेका थिए ।