निरंकुशताको यो रातमा स्वतन्त्रताको उज्यालो खोजीरहे छु
बाध्यतावस बिरबलको खिचडी पकाउनेलाई रोजीरहेको छु
अबसरका ढोकाहरु बन्द गरी संकट भित्र बाँचीरहेको छु
समयले जसरी जता नचाउछ उतैतिर म नाचिरहेको छु ।
आशा थियो युद्धबिश्राम पछि शान्तीको ढोका खुल्ने छ भनी
भविस्यको बृक्षमा सून्दर सपनाका फूल फुल्ने छ भनी
श्राप परेको यो भूमीमा रगतको होली खेली नै रहेछन
दुर्योधनको यो शासनमा जनताले दुःख झेली नै रहॆ छन ।
शान्ती समृद्धिको गति पछयाउदै आउला जस्तो लाग्थ्यो
कहिल्यै अध्यारो नहुने बिहानीको गीत गाउला जस्तो लाग्थ्यो
समयको गर्भबाट अब सुन्दर भविस्य ओझेलमा परीसकेछ
शहीदका सपना त के अब मेरो आशा पनि मरीसके छ ।
इतिहासले थापेको धरापमा कति सम्म बल्झि रहने हो
बतासे अण्डाजस्तो गन्तन्त्रमा कहिलेसम्म अल्झि रहने हो
राष्ट्रको सौभाग्य लुटने नेतादेखि भविस्य हडबडाएको छ
स्वतन्त्रतालाई दाउमा लगाउनेहरु देखि मन छटपटाएको छ ।